Main News

कोरोना संक्रमणबाट पूर्व न्यायाधीशसहित १० जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १६ गते १३:०५
कोरोना संक्रमणबाट पूर्व न्यायाधीशसहित १० जनाको मृत्यु

१६ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक पूर्वन्यायाधीशसहित १० जनाको मृत्यु भएको छ । चितवनमा चार, पर्सा र सुनसरीमा २र२ तथा काठमाडौं र ललितपुरमा एक–एक जनाको मृत्यु भएको हो । तीन जनामा भने मृत्युपछि कोरोना पुष्टि भएको हो ।

चितवनको भरतपुर अस्पतालमा हिजो दिउँसो मृत्यु भएका तीन जनामै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भइसकेपछि नमूना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै चितवन मेडिकल कलेजमा थप एक जना संक्रमितको गएराति मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिकाका ५८ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । यही भदौ १४ गते उपचारका लागि आएका मृतकमा हिजो मात्रै संक्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौंमा एक पूर्व न्यायाधीश र एक कैदीको मृत्यु भएको छ । लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

पाँच दिनअघि अस्पताल भर्ना भएका ७० वर्षीय चालिसेलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का चालिसे २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट सेवा निवृत्त हुनुभएको थियो ।

यस्तै, केन्द्रीय कारागारका एकजना कैदीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्षयरोग र मानसिक समस्या रहेको कैदीको पाटन अस्पताल ललितपुरमा उपचारमा क्रममा गएराति मृत्यु भएको हो ।

आज बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसैगरी, कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्जको नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा दुई संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै गण्डक कोभिड अस्पतालमा थप एक बाराका संक्रमितको मृत्यु भएको छ ।

यसैगरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहा मिर्चैयाका ६५ बर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको प्रतिष्ठानले जनाएको हो । मधुमेह र उच्च रक्तचापको रोगी उनमा यही भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तै, निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान ११ का एक बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिजो साँझ घरमै निधन भएका बृद्धमा कोरोना संक्रमण रहेको आशंकामा स्वाब संकलन गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुष धरान ११ मंगलबारे चोकदेखि नजिकै भानु मार्गमा डेरामा बस्ने गर्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *