१५ भदौ, २०७७ काठमाडौं । कतारमा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक एक हजार रियाल तोकिएको छ ।
नेपाली श्रमिकको प्रमुख गन्तब्य मुलुक कतारले आफ्नो श्रम बजारमा भेदभावरहित ज्याला प्रणालीको शुरुवात घोषणा गर्दै सबैखाले कर्मचारी तथा कामदारका लागि न्यूनतम ज्याला तोकेको हो ।
हालको श्रम कानूनमा संशोधन गर्दै कतारले नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी परिवर्तन गर्न चाहे रोजगारगाताबाट स्वीकृति प्रमाणपत्र चाहिने व्यवस्था समेत खारेज गरेको छ।
त्यस्तै श्रमिकले चाहेमा सूचना दिएर करार अवधिभन्दा अघि नै पनि बिना अवरोध रोजगारदाता परिवर्तन गर्न सक्नेछन् । कतारमा श्रमिकले रोजगारी परिवर्तन गर्नुअघि अनुमति दिनुपर्ने व्यवस्था मानवअधिकारको विरुद्धमा रहेको भन्दै विभिन्न संघसंस्थाले लामो समयदेखि विरोध गर्दै आएका थिए।
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले लिएको यो निर्णयलाई रोजगारदाता र कामदार दुबैको हितको रक्षाका लागि लिइएको ठूलो कदमको रुपमा व्याख्या गरिएको छ।
नयाँ कानुनअनुसार घरेलु कामदारलगायत निजी क्षेत्रका कामदारले अब प्रतिमहिना न्यूनतम एक हजार कतारी रियल अर्थात ३२ हजार नेपाली रुपैयाँ आधारभूत तलबको रुपमा पाउने छन् ।
त्यसबाहेक ५०० रियल बस्न र ३०० खानाका लागि तोकिएको छ । रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरे त्यस बापत तोकिए अनुसार रकम तिर्नै पर्नेछ।
न्यूनतम तलब लागू नगर्ने रोजगारदातालाई कडाइका साथ कारवाही गर्ने सो मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। कतारको राजपत्रमा प्रकाशित भएपछि सरकारले तोकेको भन्दा कम पारिश्रमिक पाउने कामदारले नयाँ व्यवस्था अनुसार भुक्तानी पाउने छन् । कतारमा हाल झण्डै चार लाख श्रमिक कार्यरत छन्।