Main News

गोरखामा निषेधाज्ञा हट्यो, सिन्धुपाल्चोकमा तीन दिन थप गर्ने प्रशासनको निर्णय

हिमालय टिभी
२०७७ भदौ १५ गते ८:१५
गोरखामा निषेधाज्ञा हट्यो, सिन्धुपाल्चोकमा तीन दिन थप गर्ने प्रशासनको निर्णय

१५ भदौ, २०७७ काठमाडौां । गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा आजदेखि हटाउने निर्णय गरिएको छ भने सिन्धुपाल्चोकका तीन दिन थप भएको छ ।

कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

बैठकले जिल्लाभित्र आन्तरिकरुपमा व्यक्तिगत प्रयोजनका लागि निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्लाभित्र होटल, ब्यूटीपार्लर, शैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आजदेखि सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईले जिल्लाभित्र सार्वजनिक यातायात भने तत्काल सञ्चालन गर्न दिने अवस्था नरहेको बताउनुभयो ।

उता कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म पुर्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार गएराति १२ बजेदेखि लागु हुने गरी आगामी आइतबार राति १२ बजेसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी यातायात, इरिक्सा र निजी सवारी साधनमा रोक लगाइएको छ ।

त्यस्तै खाद्यान्न पसल, फलफूल, तरकारी, दूध, हार्डवेयरलगायत पसल बिहान ६ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने निर्णय गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ १७ गते राति १२ बजेसम्म लागु हुने गरी निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

तीन दिनपछि पालिकाहरुसँग छलफल गरी अर्को निर्णय लिइने छ । कोरोना सङ्क्रमित वृृद्धि हुन थालेपछि रोकथाम गर्न लागु गरिएको निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई प्रजिअ ढकालले आग्रह गर्नुभएको छ ।

कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा बढ्दै जान थालेपछि नियन्त्रणका लागि रुपन्देहीमा लकडाउनलाई थप कडाइसहित अवधि थप गरिएको छ । कोरोना सङ्क्रमणको दर कम गर्न समुदायमा सामाजिक दूरी कायम राख्न लकडाउन बढाउँदै लगिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *