Main News

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ सय नाघ्यो

हिमालय टिभी
२०७७ भदौ १३ गते १७:५५
नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ सय नाघ्यो

१३ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो पटक थप १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको मृत्यु भएको छ । पर्साका तीन, काठमाडौं, महोत्तरी र ललितपुरका दुईदुई तथा मकवानपुर, मोरङ, महोत्तरी, सिरहा, पाल्पा र कास्कीका एकएक जनाको पनि ज्यान गएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्वर १२ मुर्लीकी ६५ वर्षीया महिला, वीरगञ्ज–२५ मनियारीका ३७ वर्षीय पुरुष तथा वीरगञ्जकै ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मुर्लीकी ६५ वर्षीया वृद्धामा अचानक श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको थियो ।

४३ वर्षीय पुरुषलाई पनि श्वासप्रश्वासमा समस्या भएपछि नेशनल मेडिकलबाट अस्थायी कोभिड अस्पतालमा लगिएको केहीबेरमै मृत्यु भएको थियो । मनियारीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमति भई उपचार गर्ने क्रममा समस्या देखिएपछि काठमाडौं रेफर गरिएको थियो । उनलाई काठमाडौं ल्याउँदै गर्दा मुग्लिङ्गमा मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले यी तीनवटै मृत्युलाई आफ्नो विवरणमा समेटेको छैन ।

थपिएका १५ जना मृतक
पर्सा- ६५ वर्षीया महिला
३७ वर्षीय पुरुष
४३ वर्षीय पुरुष
महाेत्तरी- ६२ वर्षीया महिला
३५ वर्षीय पुरुष
काठमाडाैं-५१ वर्षीया महिला
८३ वर्षीय पुरुष
ललितपुर-७२ वर्षीय पुरुष
६१ वर्षीय पुरुष
भक्तपुर- ६२ वर्षीया महिला
मकवानपुर-४९ वर्षीया महिला
माेरङ- ६१ वर्षीय पुरुष
कास्की- ५८ वर्षीय पुरुष
सिरहा- ८४ वर्षीय पुरुष
पाल्पा- ३० वर्षीया महिला

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा पोखरा महानगरपालिका १४ का ५८ बर्षीय पुरुषको आज बिहान ११ बजे मृत्यु भएको छ । भदौ ७ गते शल्यक्रिया गरिएका ती पुरुषमा १० गते कोरोना संक्रमण देखिएको थियो । त्यस पछि उनलाई कोभिड उपचार केन्द्रको आइसियुमा राखेर उपचार गरिएको थियो ।

यसैगरी, ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि तथा काठमाडौंकी ५१ वर्षीया महिलाको साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

ललिपुरकै ६१ वर्षिय र ७२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंका ८३ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमै महोत्तरीकी ६२ वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको छ । संक्रमण देखिएपछि उनको ९ गतेदेखि उपचार भइरहेको पाटन अस्पतालले जनाएको छ ।

महोत्तरीको भंगाहा नगरपालिका वडा नम्वर १ का ३५ वर्षीय पुरुषको जनकपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको छ । उनलाई हिजो मात्रै अस्पताल भर्ना गरिएको थियो ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा भदैया ६ का ८४ वर्षीय वृद्धको गएराती मृत्यु भएको छ । उनलाई मिर्गौलामा समस्या भएर डाइलाइसिस पनि गरिएको थियो ।

यसैगरी, चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । डायलाइसिस गर्न ति महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज लगिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा कोरोना संक्रमित ६५ वर्षीय पुरुषको आज अपरान्ह मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरेका ति पुरुष ज्वरो आएपछि १० दिन अघि अस्पताल भर्ना भएका थिए । मोरङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यसैगरी लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत मदनपोखराकी ३० वर्षीया महिलाको हिजो साँझ मृत्यु भएको थियो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा भदौ ७ गते संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर उसले थुप्रै मृतकलाई विवरणमा समेटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *