नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु, ८८४ जना नयाँ संक्रमित थपिए

१३ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो पटक थप १२ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको मृत्यु भएको छ । पर्सा, चितवन, पाल्पा लगायतका जिल्लामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।
त्यसैगरी नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा संक्रमण केही कम भएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । काठमाडौं उपत्यकामा १ सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् ।
काठमाडौंमा १ सय ५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् । काठमाडौंपछि प्रदेश २ मा धेरै नयाँ संक्रमित भेटिएका छन् । सर्लाहीमा ८३, पर्सामा ७३ र धनुषामा ४९ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । चितवनमा पनि थप ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक थप ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ । यो संख्या कुल संक्रमितको ५५ प्रतिशत मात्रै हो ।
गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ९ सय ७१ नमुनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३, वागमती प्रदेशमा १७ र प्रदेश ५ मा २ गरी २२ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।
मन्त्रालयका अनुसार १७५ संक्रमित आईसीयूमा छन् । प्रदेश १ मा १५, प्रदेश २ मा ३८, वागमती प्रदेशमा ७८, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १७ र कर्णाली प्रदेशमा २४ संक्रमित आईसीयूमा छन् ।
प्रतिक्रिया