Main News

नेपालमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ १३ गते १२:५८
नेपालमा कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु

१३ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै विभिन्न जिल्लामा निषेधाज्ञा लगाइए पनि मृत्युदर बढ्दै गएको छ । पछिल्लो पटक पर्सामा तीन, ललितपुरमा दुई तथा चितवन, कास्की, पाल्पा र सुनसरीमा एक एक गरी ९ जनाको मृत्यु भएको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पर्साको वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा, वीरगञ्जकै ४३ वर्षीय पुरुष र वीरगञ्ज– २५ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज १२ मुर्लीकी ६५ वर्षीया वृद्धाको अचानक श्वासप्रश्वासमा समस्या भएपछि हिजो दिउँसो साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा साँझ ७ बजे मृत्युु भएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।

मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको जिन एक्सपर्ट परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको प्याथोलोजिस्ट डा नीरा पाठकले जानकारी दिनुभयो ।

वीरगञ्जकै ४३ वर्षीय पुरुषलाई पहिलादेखि हेपटाइटिश वि तथा श्वासप्रश्वासमा समस्या भएपछि नेशनल मेडिकलबाट विरगंज अस्थाई कोभिड अस्पताल भर्ना गरेको केहिबेरमै मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरासियाले जानकारी दिनुभयो ।

वीरगञ्ज २५ मनियारीका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमति भई उपचार गर्ने क्रममा समस्या देखिएपछि काठमाडौं रेफर गरिएको थियो । उनलाई उपचारको अचानक श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौं लाने क्रममा बाटैमा मृत्यु भएको चौरासियाले जानकारी दिनुभयो ।

यसैगरी, ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत भक्तपुरकी महिलाको आज बिहान मृत्यु भएको हो ।

काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहा भदैया ६ का ८४ वर्षीय वृद्धको गएराती ११ बजेर २० मिनेटमा मृत्यु भएको छ । उनलाई मिर्गौलामा समस्या भएर डाइलाइसिस पनि गरिएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी, चितवन मेडिकल कलेज भरतपुरमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज लगिएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हिजो बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा साँझ साँढे ६ बजे उनको मृत्यु भएको थियो ।

यसैगरी, पोखरा स्वस्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा पोखरा महानगरपालिका १४ का ५८ बर्षीय पुरुषको मृत्यु भएको छ । आज बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

भदौ ७ गते शल्यक्रिया गरिएको ती पुरुषमा १० गते कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक सहप्रध्यापक अर्जुन आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *