Main News

नेपालमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

हिमालय टिभी
२०७७ भदौ १२ गते १९:१९
नेपालमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

१२ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर दिनहुँ बढिरहेको छ । पछिल्लो पटक विभिन्न जिल्लामा कोरोनाबाट १४ जनाको ज्यान गएको छ ।

गत २४ घण्टामा मोरङ र भक्तपुरका २–२, उदयपुर, चितवन, पर्सा, धनुषा, रुपन्देही, मकवानपुर, कास्की, गोरखा, सिरहा र झापका एक(एक जनाको मृत्यु भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको कमल गाउँपालिका केर्खा बजारका ८३ वर्षीय बृद्ध, सिराहाका ५५ वर्षीय पुरुष र मोरङको बेलबारीकी ५६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै सिरहाको लहानका ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट कोशी कोभिड अस्पताल विराटनगरमा आज विहान पौने ११ बजे मृत्यु भएको छ । दमको समेत समस्या रहेकी उनी हिजो अस्पताल भर्ना भएकी थिइन् ।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । उनलाई ७ गते उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा संक्रमण देखिएको थियो ।

यस्तै चितवनकै पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्वर(२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान १० बजे मृत्यु भएको हो ।

चितवनमै गोरखाका ३८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । आँबु खैरेनीका उनको भरतपुर अस्पतालमा आज दिउँसो साढे २ बजे मृत्यु भएको हो ।

यसैगरी, भक्तपुर गट्ठाघरस्थित नागरिक अस्पतालमा मध्यपुर थिमि(३, गट्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको छ । हिजो मृत्यु भएकी ति महिलामा आज मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।
भक्तपुर नगरपालिका वडा नम्वर ३ की ८२ वर्षीय बृद्धको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको विहान मृत्यु भएपछि स्वाब संकलन गरी धुलिखेल पठाइएकोमा संक्रमण पाइएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ ७ गते अस्पताल भर्ना भएका उनको गएराती साढे २ बजे मृत्यु भएको हो ।

यसैगरी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको यहि ९ गते मृत्यु भएको थियो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको गेटमै आज एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । हिजो प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका पोखरा महानगरपालिका वडा नम्वर १६ का ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि आज उपचारका लागि ल्याउँदै गर्दा गेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै पर्साका ७२ वर्षीय बृद्ध र धनुषाका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । मन्त्रालयले भने भक्तपुर र गोरखाका दुई जनाको विवरण समेटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *