विजयराम चमारको मृत्युबारे आयोगद्वारा अनुसन्धान शुरु

१२ भदौ, २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रौतहटमा हिरासतमा ज्यान गुमाएका विजयराम चमारको मृत्युको घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
प्रहरी हिरासतमा रहँदा यातना दिइएको भनिएको विषयमा आयोगको प्रदेश २ कार्यालय जनकपुरले अनुसन्धान शुरू गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिनुभएको छ ।
आयोगले चमारको स्वास्थ्य परीक्षण तथा पोष्टमार्टम प्रतिवेदनको प्रतिलिपी शीघ्र उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रौतहट तथा त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग महाराजगञ्जलाई पत्राचार गरिसकेको छ ।
रौतहटको गरुडा नगरपालिका– ८ का निरञ्जन रामको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका विजयराम चमारको हिरासतभित्रै बिरामी भएपछि उपचारका क्रममा मृत्यु भएको थियो ।
आयोगले दलितहरूमाथि हुने गरेका हिंसाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन पनि माग गरेको छ ।
यसअघि पनि प्रदेश २ को धनुषामा प्रहरी हिरासतमा शम्भु सदा, प्रादेशिक अस्पताल जनकपुरधाममा राजु सदाको मृत्यु, सप्तरीमा त्रिभुवन रामको हत्या, सिरहामा रोशन रामको हत्यालगायत मधेसमा दलित समुदायमाथि श्रृङ्खलाबद्ध हत्या, हिंसा तथा जातीय विभेदका घटना भइरहेको आयोगले जनाएको छ ।
यी घटना नेपालको संविधान, ऐन कानुन र नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघीय महासन्धिविरुद्ध रहेको भन्दै आयोगले यस्ता अमानवीय र आपराधिक घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
त्यस्तै पीडित परिवारलाई तत्कालै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र यस्ता घटना पुनरावृत्ति हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया