Main News

कोरोना संक्रमणबाट आज मृत्यु हुनेको संख्या १० पुग्यो

हिमालय टिभी
२०७७ भदौ १२ गते १३:०६
कोरोना संक्रमणबाट आज मृत्यु हुनेको संख्या १० पुग्यो

१२ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक थप १० जनाको मृत्यु भएको छ । बागमति र प्रदेश १ मा ४–४ जनाको ज्यान गएको छ ।

गत २४ घण्टामा धरानमा ३, भरतपुरमा २ तथा भक्तपुर, बुटवल, काठमाडौं, पोखरा र विराटनगरमा एक–एक जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका केर्खा बजारका ८३ वर्षीय वृद्ध, सिरहाका ५५ वर्षीय पुरुष र मोरङको बेलबारीकी ५६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । ८३ वर्षीय पुरुषलाई बी एण्ड सी टिचिङ अस्पताल झापाबाट धरान लगिएको थियो ।

यसैगरी ५६ वर्षीया महिलालाई कोशी अञ्चल अस्पतालबाट प्रतिष्ठान लगिएको थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डा। सापकोटाले बताउनुभयो ।

यस्तै सिरहा नगरपालिकाका ५५ वर्षीय पुरुषमा खोकी, श्वास फेर्न गाह्रो तथा ज्वरो आएपछि परिवारले भदौ ६ गते बीपीमा भर्ना गरेका थिए । बीपीको मेडिकल वार्डमा भर्ना गरेर स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ । कलेजका निर्देशक डा। दयाराम लम्सालका अनुसार उनलाई ७ गते उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा संक्रमण देखिएको थियो । ति महिला दमको समेत बिरामी थिइन् ।

यस्तै चितवनकै पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्वर–२ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । स्वाशप्रश्वासमा गम्भीर समस्या भई उपचाररत उनमा भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सन्दीप पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी, भक्तपुर गट्ठाघरस्थित नागरिक अस्पतालमा मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षीया महिलाको मृत्यु भएको छ । हिजो मृत्यु भएकी ति महिलामा आज मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो। आज बिहान कोरोना संक्रमण पुष्टि भएको मिजारले जानकारी दिनुभयो।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका वडा नम्वर ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
यही भदौ ७ गते अस्पताल भर्ना भएका उनको गएराती साढे २ बजे मृत्यु भएको हो ।

यस्तै, सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट कोशी कोभिड अस्पताल विराटनगरमा आज बिहान पौने ११ बजे मृत्यु भएको छ ।

अस्पतालका संयोजक डा दिपक सिग्देलका अनुसार लामो समयदेखि दमको विरामी रहेकी ति महिलालाई हिजो साँझ साढे १० बजे भर्ना गरिएको थियो । उनमा हिजो नै कोरोना संक्रमण देखिएको थियो ।

यसैगरी काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको यहि ९ गते मृत्यु भएको थियो । हिजो राती आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको गेटमै आज एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । हिजो प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका पोखरा महानगरपालिका वडा नम्वर १६ का ५२ वर्षीय पुरुषको संक्रमण पुष्टि भएको थियो ।

आज उपचारका लागि ल्याउँदै गर्दा आइसोलेसन कक्षको गेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *