Main News

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ८८५ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ १० गते १६:४३
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ८८५ जना संक्रमित थपिए

१० भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कैलाली, महोत्तरी, बाँके, काठमाडौं, मोरङ, बारा र भक्तपुरका २ महिला र ९ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाकी ४४ वर्षीया महिला र महोत्तरीका ६० वर्षीय पुरुषको विराटगनरमा उपचारका क्रममा मृत्यु भएको हो । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि आइसोलेशनमा भर्ना गर्न लाग्दा आकस्मिक कक्षमै मृत्यु भएको थियो ।

मष्तिष्कघात भएका ६० वर्षीय पुरुषको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत साउन ३१ गते अस्पतालमा भर्ना भएका उनमा भदौ ७ गते संक्रमण पुष्टि भएको थियो ।

बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नम्वर १ छतवाका ४२ वर्षीय पुरुषको हिजो राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा मृत्यु भएको हो । हिजो बिहान पनि बाराका दुईजनाको वीरगञ्जमै मृत्यु भएको थियो ।

६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज लगिएको थियो। विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा पनि एक जनाको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५१ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २३ गतेदेखि उपचाररत थिए ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका भक्तपुर सूर्यविनायकका ५३ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको छ । तीन दिन अघि अस्पताल भर्ना भएकी उनलाई परिक्षणको क्रममा संक्रमण देखिएको थियो।

त्यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा एक जनाको मृत्यु भएको छ । मृतक गोदावरी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुष हुन् । हिजो संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

कोरोना भाइरसका कारण नेपालगञ्जका ३७ बर्षका पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको छ । मृतकको दुबै फोक्सोमा निमोनिया भएको मेडिकल कलेजले जनाएको छ । यही भदौ ८ गते छातीमा समस्या भइ अस्पताल भर्ना भएका उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले कैलालीमा १० दिनअघि मृत्यु भएका पचास वर्षका एक पुरुषमा संक्रमण रहेको आज पुष्टि गरेको छ ।

यस्तै महोत्तरीमा पनि ६० वर्षीय एक पुरुषको पनि आज मृत्यु भएको छ । हिजो मृत्यु भएका दुई जनाको पनि सरकारले आज जानकारी गराएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।


यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञाका बावजुद कोरोना संक्रमण फैलिँदै गएको छ । उपत्यकामा पछिल्लो पटक अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै २ सय ३० संक्रमित भेटिएका छन् । ललितपुरमा ४७ र भक्तपुरमा २४ संक्रमित थपिएका छन् ।

उपत्यकामा पहिचान भएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । काठमाडौं जिल्लाको संख्या नेपालमा संक्रमण शुरु भययता कुनैपनि जिल्लामा एकैदिन भेटिएको धेरै हो । देशभर ८ सय ५५ संक्रमित थपिएका छन् ।

सर्लाहीमा पनि आज १ सय २० जना नयाँ संक्रमित भेटिएका छन् । नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक थप ३ सय ८५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ । गत २४ घण्टामा १३ हजार २ सय ५३ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *