Main News

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ९ गते १९:१०
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

९ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

महोत्तरी र बाराका २–२ जनाको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ बर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ बर्षीय पुरुषको बिहान मृत्यु भएको हो ।

७५ बर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी रहेको र भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा संक्रमण देखिएपछि महोत्तरीमा आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्य विग्रिएपछि जलेश्वर अस्पताल जाँदै गर्दा गेटमै उनको मृत्यु भएको थियो । बलवाका ७७ वर्षिय पुरुषको भदौ ६ गते संक्रमण पुष्टि भएको थियो ।

बाराका २ जनाको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नम्वर ४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोलका ५९ वर्षीय पुरुषको मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा। उदय नारायण सिंहले जानकारी दिनुभयो ।

भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ७२ वर्षीय वृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि हिजो बेलुका उनलाई अस्पताल लगिएकोमा आज बिहान मृत्यु भएको हो ।

त्यस्तै संक्रमण पुष्टि भएपछि भदौ ५ गतेदेखि उपचार गराइरहेको महागढीमाइई नगरपालिकाका ५९ वर्षका पुरुषको पनि आज विहान मृत्यु भएको छ । वीरगञ्जमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । जसमध्ये ३० जना पर्साका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा महोत्तरी र बाराका ४ बाहेक ७ जना मृतक थपिएको जनाएको छ । मन्त्रालयले काठमाडौंमा एक महिला र एक पुरुष तथा सिरहा, धनुषा, पर्सा र रुपन्देहीमा एक एक पुरुषको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६८ पुगेको छ । भदौ महिनामा मात्रै ५८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *