Main News

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८५५ नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ९ गते १६:३८
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ८५५ नयाँ संक्रमित थपिए

९ भदौं, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा विभिन्न जिल्लामा ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक आज महोत्तरीमा २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ बर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।

७५ बर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी रहेको र भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा संक्रमण देखिएपछि महोत्तरीमा आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्य विग्रिएपछि जलेश्वर अस्पताल जाँदै गर्दा गेटमै उनको मृत्यु भएको थियो ।

बलवाका ७७ वर्षिय पुरुषको भदौ ६ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा महोत्तरीका २ बाहेक ७ जना मृतक थपिएको जनाएको छ । काठमाडौं, सिरहा, धनुषा, पर्सा र रुपन्देहीका १ महिला र ६ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६६ पुगेको छ । भदौ महिनामा मात्रै ५६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै नेपालमा आज ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ सय ९९ संक्रमित थपिएका छन् । ललिलपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा निषेधाज्ञाका बाबजुद संक्रमण बढेको छ । काठमाडौंपछि रुपन्देहीमा सबैभन्दा बढी ६९ संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

नेपालमा पछिल्लो पटक ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

गत २४ घण्टामा ११ हजार ३ सय २७ नमूनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *