Main News

कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ९ गते १४:५२
कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु

९ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पटक महोत्तरीमा २ तथा रुपन्देही र पर्सामा एक–एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।

महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्वर ५ का ७५ वर्षीय पुरुष र बलवा नगरपालिका वडा नम्वर ३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।

दुबैको शव व्यवस्थापनको तयारी भैरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ७५ वर्षीय पुरुष उच्च रक्तचाप र मधुमेहका रोगी रहेको र भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा संक्रमण देखिएपछि महोत्तरीमा आइसोलेशनमा बस्दै आएका थिए । स्वास्थ्य बिग्रिएपछि जलेश्वर अस्पताल जाँदै गर्दा गेटमै उनको मृत्यु भएको थियो ।

यता बलवाका ७७ वर्षीय पुरुषको भदौ ६ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी रुपन्देहीमा गैडहवा गाउँपालिका वडा नम्वर ३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गएराती भिम अस्पतालमा मृत्यु भएको छ । एक हप्ताअघि घरको छतबाट लडेर घाइते भइ उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

यस्तै पर्साको कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको हिजो बेलुकी पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सुपौली घर भएका उनलाई आइतबार राति गण्डकमा भर्ना गरिएको थियो । त्यसको केही घण्टामै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा पुगेका उनलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । एक्सरे गरेर हर्दा निमोनिया देखिएपछि गण्डकमा रिफर गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *