Main News

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, ७४३ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ८ गते १६:३५
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, ७४३ जना संक्रमित थपिए

८ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ । पछिल्लो पटक थप ८ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रुपन्देहीमा ४ तथा सुनसरी, मोरङ, पर्सा र काठमाडौंमा ३ महिला र ५ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ । भदौमा मात्रै ४७ जनाको मृत्यु भएको छ ।

यस्तै नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएपनि संक्रमण रोकिन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको पाँचदिनसम्म पनि संक्रमण कम भएको छैन । पछिल्लो पटक उपत्यकाका तीन जिल्लामा २ सय २४ संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्रै १ सय ७७ नयाँ संक्रमित भेटिएका छन् । ललितपुरमा ३३ र भक्तपुरमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौंपछि सबैभन्दा बढी बारामा ९४ र कैलालीमा ७९ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक थप १ सय ७८ जना संक्रमण मुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय ३४ नमुनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २ सय ३४ परीक्षण भएको छ । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा १ हजार २ सय २९, प्रदेश नम्बर २ मा १ हजार ७ सय १८, बागमती प्रदेशमा ३ हजार ५ सय ७३ र गण्डकी प्रदेशमा ३ सय ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ८४, कर्णाली प्रदेशमा ३ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५७ गरी देशभरीका संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५४ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६३, प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा ४ सय ३५ र गण्डकी प्रदेशमा १८ जना रहेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ मा २ सय ९८, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा २६ गरी देशभर ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *