Main News

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ८ गते १२:३५
कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक तीन जनाको मृत्यु

८ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक तीन जनाको मृत्यु भएको छ । बुटवलको ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

मिर्गौला रोगबाट पीडित पुरुषलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि भक्तपुर ल्याइएको हो ।

यसैगरी, कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही ७० वर्षीया वृद्धाको मृत्यु भएको छ ।

क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिड अस्पतालमा आईसीयु बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा आइतबार राति विराटनगर( ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भदौ चार गते स्वाब संकलन गरेका पुरुषको हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हिजो बेलुकी कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *