Main News

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ६३४ संक्रमित थपिए

हिमालय टिभी
२०७७ भदौ ६ गते १६:३६
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ६३४ संक्रमित थपिए

६ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पटक थप ५ जनाको मृत्यु भएको छ ।

वीरगन्जस्थित हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना संक्रमितको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका बहुअरीका ६१ बर्षिय हरिशंकर उपाध्यायको आज बिहान मृत्यु भएको उपचारमा संलग्न डा। निरज सिंहले जानकारी दिनुभयो ।

यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको नारायणी कोभिड अस्पतालमा गएराति मृत्यु भएको हो ।

यसैगरी, पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका लागि अस्पताल भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । चितवन मेडिकल कलेजको प्रयोगशालामा पहिले र भरतपुर कोभिड ल्याबमा गरिएको पुनः परीक्षणमा संक्रमण पुष्टि भएको हो । चितवनमा अन्य दुइजनाको पनि मृत्यु भएको छ । उनीहरुको रिपोर्ट आउन भने बाँकी छ । तीनवटै शव अहिले भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यस्तै, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप एक जना कोरोना संक्रमितको मृत्युु भएको छ। धरान उपमहानगरपालिका वडा नम्वर १५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो । अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि गत साउन २७ गते अस्पताल भर्ना भएका उनको आज मृत्यु भएको हो ।

यसैगरी, सिरहामा एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । यही भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नम्बर ४ का ६८ वर्षीय पुरुषमा गएराति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

मृतकको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । ६ वर्षकी बालिकाको पनि संक्रमणबाट ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । पछिल्लो पटक पर्साका तीन, सुनसरीका दुई तथा बारा, सिरहा, मकवानपुर र भक्तपुरका ९ जनाको मृत्यु भएको हो ।

सुनसरीकी ६ वर्षिया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो बालिका हुन् ।

नेपालमा पछिल्लो पटक कोरोनाबाट हुने मृत्युदर बढेको छ । हिजो स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो । गत ५ दिनमै ४० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *