Main News

आज धुमधामका साथ हरितालिका तीज पर्व मनाइँदै

हिमालय टिभी
२०७७ भदौ ५ गते ८:१३
आज धुमधामका साथ हरितालिका तीज पर्व मनाइँदै

५ भदौ, २०७७ काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।

तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् ।

महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै धर्मशास्त्रविद् गौतमले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताउनुभयो । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने गौतमले बताउनुभयो ।

गत वर्षहरुमा काठमाडौंको पशुपति लगायत देशभरका शिव मन्दीरहरुमा ब्रतालुको भिड लाग्ने गरेकामा यो वर्ष कोरोना संक्रमणका कारण मेलामा रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *