काठमाडौंको माछापोखरीबाट दुई वटा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
४ भदौ, २०७७ काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ ।
उक्त घटनामा संकग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र नुवाकोटको लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङ छन् ।
तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए । त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको एसएसपी थापाले बताउनुभयो ।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति हुन् ।
प्रतिक्रिया