नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२४ पुग्यो
३ भदौ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मानविय क्षति बढ्दै गएको छ । पछिल्लो पटक देशका विभिन्न स्थानमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगंजस्थित नारायणी अस्पताल र हेटौडामा २–२ तथा ललितपुरको पाटन अस्पताल, चितवन, काठमाडौं र बर्दियामा एक–एक जनाको ज्यान गएको हो ।
मोरङको बुढीगंगा कि ६७ वर्षीया र धरान उपमहानगरपालिका वडा नम्वर १५ की ७१ वर्षीया वृद्धाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङकी महिला हिजो बिहान अस्पताल भर्ना भएकी थिइन् । ती महिलामा उच्च ज्वरो, निमोनिया र मुटुको समेत समस्या देखिएको अस्पतालले जनाएको छ ।
भर्ना भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । त्यसअघि साउन २७ गते स्वाब संकलन गरेर कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने उनमा रिपोर्ट नेगेटिभ आएपछि घरपरिवार तथा नातागोता समेतले स्याहार, सुसार गरेका थिए ।
धरानकी वृद्धा साउन २३ गते संक्रमण पुष्टि भएपछि २४ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई मुटु र दमको समेत समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।
मोरङमा अहिलेसम्म कोरोना संक्रमणबाट १२ जनाको ज्यान गइसकेको छ । सुनसरीमा कोरोनाबाट मृत्यु भएको पहिलो हो ।
यस्तै वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगन्जको विर्ताका ८४ वर्षीय पुरुष र नारायणी अस्पतालमा उपचाररत भिस्वाका ५७ वर्षीय पुरुषको हिजो मृत्यु भएको छ । ५७ वर्षीय पुरुषको मृत्यु भएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै त्यहाँ २४ जनाको मृत्यु भएको थियो । वीरगञ्जमा मृत्यु भएका मध्ये पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जना छन् ।
यस्तै ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा क्रममा भक्तपुर सूर्यविनायककी ६१ वर्षीय महिलाको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमित उनको साउन २१ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो ।
यता हेटौंडामा पनि कोरोना संक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ का ७१ वर्षिय वृद्धको गएराती घरमै मृत्यु भएको र आज कोरोना संक्रमण पुष्टि भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
मृत्युपछि प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा आज कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै अस्ती मृत्यु भएकी हेटौडा उपमहानगरपालिका वडा नम्वर १९ की ६२ वर्षिय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
घरमै मृत्यु भएकी यी महिलाको हिजो विहान दाहसंस्कार गरिएको थियो । उनलाई चितवनमा उपचार गरेर घर ल्याइएको थियो । कोरोना संक्रमणका कारण मकवानपुरमा पहिलो पटक मृत्यु भएको हो ।
बर्दियाको मधुवन नगरपालिकाका ७८ वर्षीय एक पुरुषमा मृत्यु भएर अन्त्येष्टी गरिसकेपछि हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । मलामी गएका करिव ३५ जनालाई खोजेर क्वारन्टिनमा राखिएको छ ।
यस्तै चितवनको खैरहनी नगरपालिका वडा नम्वर ३ की १ सय ८ वर्षकी बृद्धाको पनि कोरोना संक्रमणबाट हिजो मृत्यु भएको थियो ।
काठमाडौंमा पनि थप एकजनाको मृत्यु भएको छ । तर यसको विवरण खुलाइएको छैन । स्वास्थ्य मन्त्रालयले हेटौडा र वीरगञ्जमा मृत्यु भएकालाई भने सूचीमा समेटेको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ ।
प्रतिक्रिया