Main News

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ ३ गते १५:०७
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु

३ भदौं, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मानविय क्षति बढ्दै गएको छ । पछिल्लो पटक देशका विभिन्न स्थानमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरगंजस्थित नारायणी अस्पताल र हेटौडामा २(२ तथा ललितपुरको पाटन अस्पतालमा एकजनाको ज्यान गएको हो ।

मोरङको बुढीगंगा कि ६७ वर्षीया र धरान उपमहानगरपालिका वडा नम्वर १५ की ७१ वर्षीया वृद्धाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङकी महिला हिजो बिहान अस्पताल भर्ना भएकी थिइन् । ती महिलामा उच्च ज्वरो, निमोनिया र मुटुको समेत समस्या देखिएको अस्पतालले जनाएको छ । भर्ना भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि साउन २७ गते स्वाब संकलन गरेर कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने उनमा रिपोर्ट नेगेटिभ आएपछि घरपरिवार तथा नातागोता समेतले स्याहार, सुसार गरेका थिए ।

धरानकी बृद्धा साउन २३ गते संक्रमण पुष्टि भएपछि २४ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाइ मुटु र दमको समेत समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो ।

मोरङमा अहिलेसम्म कोरोना संक्रमणबाट १२ जनाको ज्यान गइसकेको छ । सुनसरीमा कोरोनाबाट मृत्यु भएको पहिलो हो ।

यस्तै वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगन्जको विर्ताका ८४ वर्षीय पुरुष र नारायणी अस्पतालमा उपचाररत भिस्वाका ५७ वर्षीय पुरुषको हिजो मृत्यु भएको छ । ५७ वर्षीय पुरुषको मृत्यु भएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै त्यहाँ २४ जनाको मृत्यु भएको थियो । वीरगञ्जमा मृत्यु भएका मध्ये पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जना छन् ।

यस्तै ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा क्रममा भक्तपुर सूर्यविनायककी ६१ वर्षीय महिलाको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमित उनको साउन २१ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

यता हेटौंडामा पनि कोरोना संक्रमणबाट दुइ जनाको मृत्‍यु भएको छ । हेटौंडा उपमहानगरपालिका(१ का ७१ वर्षिय वृद्धको गएराती घरमै मृत्यु भएको र आज कोरोना संक्रमण पुष्टि भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

मृत्युपछि प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा आज कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै अस्ती मृत्यु भएकी हेटौडा उपमहानगरपालिका वडा नम्वर १९ की ६२ वर्षिय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

घरमै मृत्यु भएकी यी महिलाको हिजो बिहान दाहसंस्कार गरिएको थियो । उनलाई चितवनमा उपचार गरेर घर ल्याइएको थियो । कोरोना संक्रमणका कारण मकवानपुरमा पहिलो पटक मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *