Main News

झण्डा जलाउने भिडियो खिच्ने क्यामेरा पर्सन पक्राउ, ६ जना फरार

हिमालय टिभी
२०७७ भदौ २ गते १७:५१
झण्डा जलाउने भिडियो खिच्ने क्यामेरा पर्सन पक्राउ, ६ जना फरार

२ भदौं, २०७७ काठमाडौं । झन्डा जलाउने गीतको भिडियो खिच्ने टिमका क्यामेरा पर्सन इसाक लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले नखिपोटबाट लिम्बुलाई पक्राउ गरेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिनुभयो । अरु ६ जना अझै फरार छन् ।

लिम्बुलाई पक्रेपछि उनीहरुले मोबाइलको स्वीच अफ गरेको र उनीहरुको खोजी भैरहेको थापाले जानकारी दिनुभयो । गीत मकवानपुरको एक स्कुलमा सुटिङ गरिएको थियो ।

प्रहरीले साइबर क्राइम र मुलुकी अपराध संहिता २०७४ को दफा १५१ ९१० अनुसार उनीहरु विरुद्ध मुद्दा चलाउने भएको छ ।

झन्डा जलाउने, राष्ट्रिय गान दुरुपयोग, सामाजिक जातीय, धार्मिक द्वेष फैलाउन पाइँदैन । यो कसुर गरे ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मंगोल होप नेपाल नामको युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डा समेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

भिडियोमा देखिएका र त्यसको निर्माण पक्षमा सहभागी सबैको खोजी गर्न देशभर सर्कुलर जारी गरिसकिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न दलका शीर्ष नेताको तस्बीर पनि जलाइएको छ ।पृथ्वीनारायण शाह, पूर्व प्रधानमन्त्री वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र पूर्व राजा ज्ञानेन्द्र शाहको तस्विर जलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *