Main News

कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ भदौ २ गते १२:५३
कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु

२ भदौ, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । कांग्रेस जिल्ला उपसभापतिको पनि संक्रमणबाट ज्यान गएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा पश्चिम नवलपरासीका कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको आज बिहान मृत्यु भएको हो ।

संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट गत साउन ३० गते उहाँलाई पाटन अस्पताल ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहँदा आज बिहान उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट कास्की र तनहुँका दुई जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १६ का ८७ वर्षीय वृद्धको कोभिड उपचार केन्द्रमा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै कोरोना संक्रमित तनहुँकी ५० वर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनी गत साउन २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

उता नेपालगञ्जमा पनि एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ५ का ६२ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि गएको साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । पछि उनमा संक्रमण पुष्टि भएको थियो । यसअघि धनुषामा हिजो एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *