कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु

१ भदौं, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो ।
पाटन अस्पताल ललितपुरमा विगत १२ दिनदेखि उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पूरुषको आज साँझ मृत्यु भएको छ ।
गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसै गरी वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्थाई कोरोना अस्पतालका इञ्चार्ज डाक्टर उदय नारायण सिंहका अनुसार उपचारको क्रममा शनिबार राति ८ बजे उनको मृत्यु भएको थियो । ३२ वर्षीय ती युवकमा आइतबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार मृत्यु भएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । यसै गरी पर्साको वीरगञ्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
यसै गरी जनकपुरमा तीन दिनअघि मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै विराटनगरकी एक ५० वर्षीया संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया