Main News

अभद्र व्यवहारले उपचारमा खटिने स्वास्थ्यकर्मी निराश बन्दै (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३२ गते २०:३३
अभद्र व्यवहारले उपचारमा खटिने स्वास्थ्यकर्मी निराश बन्दै (भिडियोसहित)

३२ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमितको उपचारमा खटिकाएका स्वास्थ्यकर्मी, चिकित्सकमा कोरोना संक्रमण हुने दर बढिरहेको छ । जस्ले गर्दा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमा चिन्ता बढेको छ । यस्तो समयमा नागरिक, सरकार साथ नदिदाँ चिन्तामात्रै होईन, चिकित्सक निराश बनेका छन् ।

चितवन बकुलहरको रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगाले र उहाँकी श्रीमतीलाई गत सोमबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भए पछि उहाँहरु भरतपुर ४ मा रहेको घरमै आइसोलेसनमा बसिरहनु भएको छ । तर घरमै बसेका बेला उहाँले वडाध्यक्षसहित टोलसुधार समितिका मान्छेबाट दुर्व्यवहार व्यहोर्नु पर्‍यो ।

भरतपुर वडा नम्बर ४ का वडाध्यक्ष हरिहर आचार्य सहितको टोलीले उहाँको घरमा यो कोरोना संक्रमितको घर हो भन्ने पोष्टर टाँस्न खोज्यो । उहाँले पोष्टर टाँस्न दिनु भएन । तर वडाध्यक्ष स्वयम् पोष्टर टाँस्न आएको घटनाबाट डाक्टर बगालेले मानसिक पिडा भोग्नु परेको छ ।

चितवनका डाक्टर बगालेले भोगेको घटना त एउटा उदाहरण मात्र हो । अस्पतालमा काम गरिरहेका स्वास्थ्यकर्मीदेखि कार्यालय सहयोगी सबैले घरबेटी, छिमेकी, जिम्मेवार निकाय र पदाधिकारीबाट यस्तै दुर्व्यवहार खेप्नु परिरहेको छ । कतिपय स्वास्थ्यकर्मीलाई घरबेटीले कोठाबाटै निकालिदिएका छन् । उनीहरु उपचारका लागि चाहिने स्वास्थ्य सामग्री समेत सरकारबाट उपलब्ध नहुँदा समस्यमा छन् ।

स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा अस्पतालमा मात्र हैन , आइसोलेसन सेन्टर, क्वारन्टिन सेन्टर लगायतका ठाउँमा नागरिकसँग सँगै छन् । तर नागरिक र सरकारले भने स्वास्थ्यकर्मीसँग हातेमालो गर्न सकेका छैनन् । यस्तो स्थिति कायमै रहे कोरोनाको लडाइँ जित्न नसकिने स्वास्थ्यकर्मीको ठहर छ ।

कोरोना संक्रमित मात्र हैन जुन सुकै रोग लागेकालाई उपचार गर्ने र बचाउने स्वास्थ्यकर्मी नै हुन् । उनीहरु बिना कोरोना जित्न संभव छैन । त्यसैले स्वास्थ्यकर्मीलाई छिछि र दुरदुर गर्नुको सट्टा हौसला बढाउन र प्रोत्साहित गर्न जरूरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *