विराटनगरमा कोरोना संक्रमितका परिवारका दुई जना महिलाको मृत्यु

३२ साउन, २०७७ विराटनगर । परिवारका सदस्यमा कोरोना संक्रमण भएका विराटनगरका २ महिलाको गएराति मृत्यु भएको छ ।
विराटनगर ९ की ६२ वर्षीय महिला र विराटनगर ३ की ८७ वर्षीय महिलाको गएराति मृत्यु भएको हो ।
उनीहरु दुबैका परिवारका सदस्य कोरोना संक्रमित भएपछि एकजनाको कोरोना परीक्षणको लागि स्वाब संकलन भएको रिपोर्ट नआउँदै मृत्यु भएको छ भने अर्की महिलाको परीक्षण नै भएको थिएन ।
विराटनगर–९ की ६२ वर्षीया वृद्धाको गएराति मृत्यु भएपछि आज बिहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको वडाध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो ।
वृद्धाको परिवारका एक सदस्य ४५ वर्षीय पुरुषको यसअघि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको बताइएको छ । उनका २ छोरा र एक छोरीमा पनि कोरोना देखिएको छ । जसमध्ये एक छोरा सम्पर्कविहीन रहेको महानगरपालिकाले जनाएको छ ।
यसैगरी शनिबार राति नै विराटनगर–३ का कोरोना संक्रमित व्यक्तिकी आमा ८७ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ ।
छोरालाई आइसोलेनसमा भर्ना गरिएपछि ज्वरो आउनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि बुधबार वृद्धाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया