Main News

नियन्त्रणबाहिर जाँदै कारोना, १७ दिनमा दोब्बर बढे काेराेना संक्रमित मृतक (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते २०:३८
नियन्त्रणबाहिर जाँदै कारोना, १७ दिनमा दोब्बर बढे काेराेना संक्रमित मृतक (भिडियोसहित)

३१ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ । कोरोना संक्रमण देखिएको साढे ६ महिना पूरा भए पनि पहिलो चार महिनामा कसैको मृत्यु भएको थिएन । तर पछिल्लो एक महिनामा नै कोरोनाका कारण ६२ जनाको मृत्यु भएको छ । कोरोनाको मृत्युदर कसरी बढिरहेको छ ?

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सत्र दिनमा दोब्बर भन्दा धेरै भएको छ । साउन १४ गतेसम्ममा ४९ जनाको मृत्यु भएकोमा त्यसयताको सत्र दिनमा थप ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो १२ दिनदेखि मृत्यु टुटेको छैन । र यो अवधिमा ४० जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सुत्केरी भएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगिन् । तर पछि स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेकी उनको धुलिखेलमा नै मृत्यु भयो ।

मृत्युपछि उनको नमूना परीक्षण गर्दा कोरोना पुष्टि भयो । ती महिलाको मृत्यु भएको २ महिनासम्म अर्थात साउन ३ गतेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० थियो ।

तर साउनको पहिलो हप्ता वीरगञ्जमा समुदाय स्तरमा नै कोरोना संक्रमण देखिएपछि मृतकको संख्या बढ्यो र १४ गतेसम्म मृतकको संख्या बढेर ४९ पुगेको थियो । तर १४ गतेयताको १७ दिनमा मृतकको संख्या दोब्बर बढी अर्थात १ सय २ पुगेको छ ।

नेपालमा पहिलोपटक माघ १० गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो कोरोना संक्रमण पुष्टि भएको झण्डै चार महिनापछि पहिलो मृत्यु भएको थियो । त्यसपछि पहिलो महिनामा २०, दोश्रो महिनामा २० जना मृतक थपिए । तर पछिल्लो एक महिनामा नै ६२ जनाको मृत्यु भएको छ ।

साउन २८ गते एकै दिन ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । मन्त्रालयको पत्रकार सम्मेलन सकिएपछि बेलुकीसम्ममा त्यसदिन ११ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरु मध्ये ८१ जना पुरुष र २२ जना महिला छन् । मृत्यु हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका सबैभन्दा धेरै २९ जना छन् । ५१ देखि ६० वर्ष उमेर समूहका १७ जना, ६१ वर्षदेखि ७० वर्षसम्मका १६ जना, ७१ वर्षदेखि ८० वर्षसम्मका १२ जना र ८१ वर्षभन्दा माथिको उमेर समूहका ४ जना छन् ।

कोरोना संक्रमणबाट १० वर्षमुनिका बालबालिकाको पनि मृत्यु भएको छ । २ जना बालक र १ जना बालिकाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ११ देखि २० वर्षका ५ जना, २१ देखि ३० वर्षको उमेर समूहका ८ जना र ३१ देखि ४० वर्षको उमेर समूहका ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी प्रदेश २ का छन् । प्रदेश २ मा ४४ जना, बाग्मति प्रदेशमा १८ जना, प्रदेश ५ मा १३ जना, प्रदेश १ मा ९ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना, गण्डकी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *