Main News

सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ जना अझै फेला परेनन् (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३१ गते १८:३८
सिन्धुपाल्चोक पहिरोमा मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ जना अझै फेला परेनन् (भिडियोसहित)

३१ साउन, २०७७ चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १८ पुगेको छ । २१ जना अझै हराइरहेका छन् ।

लिदी गाउँको तामाङ वस्तीमा हिजो बिहान गएको पहिरोमा ३९ जना पुरिएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो ११ जनालाई पहिरोबाट मृतअवस्थामा निकालिएको थियो भने आज थप ७ शव निकालिएको छ । सबै मृतकको सनाखत भइसकेको छ ।

आज भेटिएका मृतकमा ५ जना बालबालिका छन् । जिल्ला प्रहरीका अनुसार १६ वर्षिया माइला दोङ, ३५ बर्षिया मेकमाइ दोङ, ११ बर्षकी बालिका श्यामा दोङ, ११ वर्षकै लक्ष्मी दोङ, ७ वर्षकी बालिका विमला दोङ, ७ महिने शिशु कवीर दोङ र ३० वर्षका मानबहादुर दोङको आज शव फेला परेको छ ।

पहिरोमा पुरिएर हराईरहेकाको नेपाली सेना, प्रहरी सहितको टोलीले आज बिहानै देखि खोजि गरिरहेको छ । पुरिएका सबै तामाङ समुदायका हुन् ।

यसैबीच पहिरो पीडितका लागि आवश्यक राहत र पुनस्थापनाको व्यवस्थापनका लागि बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली जुगल पुगेको छ ।

प्रदेश सरकारले पहिरो पीडितका लागि घर बनाइदिने आश्वासन दिएको छ । हिजो गृहमन्त्री रामबहादुर थापा र सभामुख अग्नी सापकोटा पनि पहिरोस्थल पुग्नुभएको थियो । स्थानीय र विज्ञले उक्त स्थानमा पहिरो जान सक्ने भन्दै बस्ती सार्न सुझाव दिएपनि सरकारले बेवास्ता गर्दा ठुलो मानवीय क्षति भएको हो ।

सरकारी निकायको लापरवाहीको चर्को आलोचना भएको छ । सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै घटनाको छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *