Main News

जनमैत्री अस्पताल चलाउन स्थानीय तहको माग, संघीय सरकारले सुनेन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३० गते २०:३३
जनमैत्री अस्पताल चलाउन स्थानीय तहको माग, संघीय सरकारले सुनेन (भिडियोसहित)

३० साउन, २०७७ काठमाडौं । कोरोना संक्रमित धेरै भएका शहरी क्षेत्रमा उपचारका लागि बेड अभाव भएको छ । कतिपय संक्रमित जटिल स्वास्थ्य समस्या हुँदासम्म अस्पताल भर्ना हुन पाएका छैनन् । यस्तोमा राजधानी काठमाडौंमै रहेको एउटा सुविधासम्पन्न अस्पताल भने बन्द छ । बन्द अस्पताल सञ्चालन गर्न जनप्रतिनिधिले पनि आग्रह गर्दै आएका छन् । तर अस्पताल सञ्चालन गरेर विरामीको उपचार गर्ने तर्फ सरकारले कुनै ध्यान दिएको छैन ।

मुल गेट बन्द । भित्र प्रवेश गर्ने ढोकामा पनि ठूलो ताल्चा । वरपर झारै झार…

अनुमान लगाउनु भयो ? यो कुन ठाउँ होला ? यदि लगाउनु भएन भने…

यति भनेपछि तपाईंले जे सोचिरहनुभएको छ । त्यो साँचो हो । यो अस्पताल हो । तर यो बन्द छ ।

र यो अस्पताल कतै टाढा होइन राजधानी काठमाडौं मै छ । तर अस्पताल बन्द किन ? कतै कोरोना संक्रमित देखिएर बन्द गरिएको त होइन ? अहँ होइन ।

यो काठमाडौं बालाजुको जनमैत्री अस्पताल हो । र यो अस्पताल बन्द भएको ४ वर्षभन्दा बढी भयो । कुनै समय तत्कालीन नेकपा माओवादी नेताहरुको संलग्नतामा सञ्चालित यो अस्पताल आर्थिक लेनदेनकै विषय नमिल्दा बन्द भयो ।

अहिले देश कोरोना भाइरसको सन्त्राससँग जुधिरहेको र अस्पतालहरु पनि भरिँदै गएको अवस्थामा आवश्यक पूर्वाधारसहितको तीन सय बेड क्षमताको यो अस्पताल भने बन्द छ ।

काठमाडौं वडा नम्बर १६ मा पर्ने यो अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याउन लागि सहयोग गरिदिनुस् भनेर वडा कार्यालयले महानगर मार्फत विभागीय मन्त्रालयदेखि सीसीएमसीसम्म गुहारिसकेको छ । तर बोल्न मात्र जानेको सरकारले यो कुरा सुनेकै छैन ।

सरकारले आइशोलेसन सेन्टर थप्ने सूचीमा यो अस्पतालको पनि नाम राखेको छ । स्थानीय सरकारले पनि अस्पताल सञ्चालन गर्न जस्तो सुकै सहयोग गर्ने बताएको छ । तर अवस्था भयावह हुनैलाग्दा पनि सरकारका तर्फबाट भने अस्पताललाई आईशोलेसन सेन्टर बनाउने सम्बन्धमा कुनै तयारी सुरु भएको छैन ।

उपत्यकामा दिनहुँ कोरोना संक्रमित बढ्दै जाँदा र घरमै पनि त्रासमा बस्नु परिरहेका बेला सरकारले भएकै स्रोत साधन प्रयोग गर्न कुनै ताकेता गरेको छैन ।सरकारले मास्क, साबुन पानी र स्यानिटाइजर भन्दा पर केही देखेकै छैन । सरकारको यस्तो व्यवहार मुलुक र नागरिकका लागि घातक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *