Main News

सिन्धुपाल्चोक पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो, २७ जना अझै बेपत्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३० गते १७:१४
सिन्धुपाल्चोक पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो, २७ जना अझै बेपत्ता (भिडियोसहित)

३० साउन, २०७७ चौतारा । सिन्धुपाल्चोकमा आज विहान गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । २७ जना हराइरहेका छन् ।

जुगल गाउँपालिका वडा नम्वर २ को लिदीमा बिहान ६ बजे गएको पहिरोले ३५ घर पुरेको हो । घरमा पुरिएका मध्ये ११ जनाको शव निकालिएको र अन्यको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमा दुइजना शिशु समेत छन् ।

पहिरोमा पुरिएर ८० वर्षिय जिते झाँक्री, ७० वर्षिय जयबहादुर दोङ, ३६ वर्षिया टिकामाइ दोङ, ३० वर्षिय दावा लामा दोङ, ३४ वर्षिया धनमाया तामाङ, ८ वर्षका बालक मिलन दोङ, १४ वर्षका बालक छिरिङ दोङ, ५ वर्षकी बालिका प्रिती दोङ, ५ वर्षकै सानु दोङ, ५ महिने शिशु तारा लामु दोङ र ४ महिने शिशुर रेनिश दोङको मृत्यु भएको छ ।

पुरिएर घाइते भएका मध्ये ४ जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने गम्भीर घाइते एकजनालाई काठमाडौँ ल्याएर सिभिल अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी सहितको टोलीले उद्धार गरिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापासहितको टोलीले पहिरोस्थलमा पुगेर उद्धारबारे जानकारी लिएको छ । गृहमन्त्री थापाले पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

त्यसअघि सभामुख अग्नी सापकोटाले पनि घटनास्थल पुगेर उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारी निकायलाई निर्देशन दिनुभएको थियो । सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *