Main News

नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु, ५९४ संक्रमित थपिए

हिमालय टिभी
२०७७ साउन ३० गते १६:४३
नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु, ५९४ संक्रमित थपिए

३० साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । पछिल्लो पटक थप चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा बाराका दुइजना र कोशी अस्पतालमा विराटनगर र सिरहाका दुईजनाको हिजो मृत्यु भएको हो । वीरगञ्जमा मृत्यु भएका दुबै पुरुष बाराका बासिन्दा हुन् ।

प्रसौनी गाउँपालिकाका वडा नम्वर २ का ६५ वर्षीय र जीतपुर सिमरा उपमहानगरपालिका ४ औराहाका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

दमका रोगी प्रसौनी निवासी ६५ वर्षीय वृद्धमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल पुर्याएका थिए । वयोधाले कोरोना अस्पताल पठाएको थियो ।

यसैगरी औराहाका ५० वर्षीय पुरुष पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनमा ५ दिनदेखि ज्वरो र खोकीसमेत लागेको थियो ।

बुधबार स्वास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज पुर्‍याएका थिए । त्यहाँ आईसीयू खाली नभएको भन्दै कोरोना अस्पताल पठाएका थियो ।

विराटनगर महानगरपालिका वडा नम्वर १५ का ३० वर्षीय पुरुष र सिरहाका ४० वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

विराटनगरका युवकलाई बिहीबार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । उनको बेलुका आइसोलेसनमा मृत्यु भएको र कोरोना जाँच गर्दा संक्रमण पाइएको उहाँले जानकारी दिनुभयो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई आफन्तले विहीबार बिहान कोशी अस्पताल ल्याएका थिए । विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनागरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

नेपालमा पछिल्लो पटक थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय १९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सबैभन्दा बढी काठमाडौंमा ८३ संक्रमित थपिएका छन् । ललितपुरमा ३० र भक्तपुरमा ६ जना नयाँ संक्रमित भेटिएका छन् ।

ललितपुरमा भेटिएको संख्या अहिलेसम्मकै उच्च हो । समुदायमा संक्रमण फैलिएको पर्सामा ७१ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

नेपालमा पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ । पछिल्लो पटक २ सय ४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा देशका विभिन्न ३९ प्रयोगशालामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । आज आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । क्वारन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *