Main News

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृत्यु हुने ९१ पुगे, ४८४ संक्रमित थपिए (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २८ गते १६:४४
कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृत्यु हुने ९१ पुगे, ४८४ संक्रमित थपिए (भिडियोसहित)

२८ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्युदर बढ्दै गएको छ । संक्रमण समुदायस्तरमा पुगेसँगै मृतकको संख्या पनि बढेको हो । पछिल्लो पटक कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

ललितपुरका विभिन्न अस्पतालमा उपचारका क्रममा ४ तथा काठमाडौं, सप्तरी, मोरङ र रुपन्देहीमा एक(एक जनाको मृत्यु भएको हो। जनकपुरका पुर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका पूर्व मेयर तथा रामा होटलका संचालक गिरीको गएराती मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई २० दिनअघि हेलिकोप्टरबाट उपचारका लागि मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

७१ वर्षीय गिरीको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । छोरा डा। सन्तोष गिरीका अनुसार उहाँमा मुटु र उच्च रक्तचापको समस्या थियो । उहाँ २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बन्नुभएको थियो ।

यस्तै ललितपुरको पाटन अस्पतालमा जनकपुर घर भएकी एक महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । ३८ वर्षिया ति महिलामा कोरोना संक्रमण र मेनेन्जाटाइटिस पनि देखिएको थियो । उनी साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन ।

यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा दुइजनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया बृद्धाको गएराती मृत्यु भएको थियो भने बाराको कलैयाका ७५ वर्षीय बृद्धको विहान मृत्यु भएको थियो । दुबैजनाको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिकामा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा पनि एकजना संक्रमितको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर २ तौलिहवाका ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकै अर्का एक जनाको पनि मृत्यु भएको छ । यद्यपी उनको रिपोर्ट आएको छैन । कृष्णनगरका २५ वर्षीय युवकको गएराति नै मृत्यु भएको हो । उनी साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।

बुटवलको अस्पतालमा पहिलो पटक संक्रमितको मृत्यु भएको हो । यसैगरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा गाउँपालिका वडा नम्वर २ का ५५ वर्षीय पुरुषको विहान मृत्यु भएको छ ।

श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा‍। निदेश सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै धादिङको निलकण्ठ नगरपालिका– १४ का ३२ वर्षीय पुरुषको काठमाडौंको ह्याम्स अस्पतालमा आज विहान निधन भएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी निमोनियाबाट ग्रस्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

यस्तै आज देशभर ४ सय ८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै १ सय ३९ जना छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १सय ९ जना, ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । आज ६४ जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या १६ हजार ७ सय २८ पुगेको छ।

आज १० हजार ४ सय ८१ जनाको पिसिआर टेस्ट भएको छ । हालसम्म ४ लाख ७३ हजार १ सय ७८ जनाको पिसिआर टेस्ट भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *