Main News

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २६ गते १४:३०
नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

२६ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

वीरगञ्ज र जनकपुरमा यसअघि नै मृत्यु भएकामा आज संक्रमण पुष्टि भएको हो भने ललितपुरमा उपचार गराइहेका एक जनाको आज बिहान मृत्यु भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ। कलंकी ट्याङ्ला फाँटका उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो । मधुमेहको समस्या रहेका उनमा पछिल्लो पटक निमोनिया भएको थियो ।

यसैगरी जनकपुरधाममा हिजो मृत्यु भएका ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धनुषा मिथिला बिहारीका ति पुरुषको विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएका थियो ।

उनी सोही अस्पतालका सुरक्षा गार्ड रहेको बताइएको छ । रुघाखोकी र झाडापाखालासँगै ज्वरो आएपछि गाउँमै औषधि खाइरहेका उनलाई स्वास प्रश्वासमा समस्या भएपछि हिजो अस्पताल पुर्‍याइएको थियो । उनको रिपोर्ट नआउँदै हिजो नै दाहसंस्कार गरिसकिएको छ ।

जनकपुरधामकै काब्या अस्पतालमा हिजो मृत्यु भएका शहिदनगर नगरपालिकाका पुरुषको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यस्तै शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ भेडियाही ४५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनको हिजो स्वाब निकालेर पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

उच्च रक्तचाप र थाइराइडकी बिरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ ।

वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *