Main News

अस्पतालले उपचार नदिएर आफन्तको मृत्यु भएको भन्दै कोरोना संक्रमितको परिवार आन्दोलनमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते १९:५१
अस्पतालले उपचार नदिएर आफन्तको मृत्यु भएको भन्दै कोरोना संक्रमितको परिवार आन्दोलनमा (भिडियोसहित)

२५ साउन, २०७७ पर्सा । वीरगञ्जमा उपचार नपाउँदा अस्ति राति एक युवतीको मृत्यु भयो । उनको मृत्युपछि गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भयो ।

ती युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यलाई क्वारन्टिनमा राखेर कोरोना परीक्षण गर्नु पर्ने हो । तर त्यसो भएन । अस्पतालले उपचार नगरेका कारण आफन्तको मृत्यु भएको भन्दै परिवारका सदस्यनै प्रदर्शनमा उत्रिए । जुन प्रदर्शनमा स्थानीय बासिन्दा समेत थिए । यसले वीरगञ्जमा कोरोनाको थप जोखिम बढेको छ ।

यो आक्रोशमा पीडा छ । आफन्तले समयमा उपचार नपाएर मृत्युवरण गर्नु परेपछिको पीडा । त्यसैले उहाँ आक्रोशित हुनुहुन्छ । विरामी बहिनीलाई उहाँले शुक्रबार राति उपचारका लागि विरगञ्जका सबै अस्पताल पुर्याउनु भयो ।

तर अस्पतालका निर्दयी डाक्टर र कर्मचारीको मन पग्लिएन । उहाँकी २० वर्षकी बहिनीले टेम्पुमै अन्तिम सास फेर्नुभयो । त्यसैले उहाँहरु अरुले नागरिकले उपचार नपाएर ज्यान गुमाउने पर्ने स्थिति नआओस् भन्दै थिति बसाउन आन्दोलनमा उत्रिनुभयो ।

विरामी कोरोना संक्रमित हुन सक्ने डरले विरगञ्जका अस्पतालले भर्ना गर्न मानेका थिएनन् । कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालले भने भर्ना गरेनन् । नारायणी अस्पताललाई संघीय सरकारले कोभिड अस्पताल घोषणा गरेर अरु सेवा बन्द गरेको छ ।

नारायणीमा उपचार हुने विरामीलाई उपचारको जिम्मा नेशनल मेडिकल कलेजलाई दिएको छ, तर यो मेडिकल कलेजले पनि विरामी भर्ना लिने गरेको छैन । जसका कारण आक्रोशित स्थानीयबासिन्दा पनि यो विरोधमा सहभागी छन् ।

कोरानोको आशंकाकै कारण अस्पतालले युवतीलाई भर्ना लिन मानेनन र उनको ज्यान गयो । अस्पतालले आशंका गरे झैं उनमा कोरोना पनि पुष्टि भयो । यस्तो भएपछि मृतकका परिवारका सदस्य र संसर्गमा आएका अरु व्यक्तिलाई क्वारन्टिनमा राखेर कोरोना परिक्षण गरिनु पर्ने हो । तर त्यसमा कसैको चासो छैन ।

उल्टै परिवारका सदस्य यो जुलशमा सहभागी छन् । तर ती युवतीको परिवारका सदस्यलाई यो सामग्री तयार पार्दासम्म पनि क्वारन्टिनमा राखिएको छैन । नमूना संकलन गरेर परीक्षण गर्नु त टाढाका विषय ।
कोरोना संक्रमतिलाई खुवाउने पियाउने र उपचारका लागि अस्पताल लैजानै व्यक्ति नै जुलुशमा जानु लापरबाही हो ।

यसमा न त प्रशासनको ध्यान गयो । न त प्रहरीको । आफन्त गुमाएर पीडा र आक्रोशमा रहेका परिवारका सदस्यलाई सम्झाउनसमेत कोही जिम्मेवार अधिकारी गएनन् । जसले गर्दा यो प्रदर्शनमा सहभागी सबैलाई कोराना संक्रमण हुने जोखिम बढेको छ । यसको जिम्मेवारी कसको ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *