Main News

कोरोनाका कारण पर्सामा थप दुई र सिरहामा एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ६८ पुग्यो

हिमालय टिभी
२०७७ साउन २३ गते १३:१६
कोरोनाका कारण पर्सामा थप दुई र सिरहामा एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या ६८ पुग्यो

२३ साउन, २०७७, पर्सा । पर्सामा र सिरहामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍। मदन उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै हिजो बिहान वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा हिजो साँझ संक्रमण पुष्टि भएको हो । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

यस्तै सिरहाको गोलबजार नगरपालिका १२ का २३ वर्षीय युवकको गएराति मृत्यु भएको छ । तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित ती युवकमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *