Political Hightlights

ओली सिद्धान्तबाट च्यूत हुँदै पार्टी फुटाउन सक्रिया रहेको प्रचण्ड–नेपाल समूहको आरोप

हिमालय टिभी
२०७७ साउन २१ गते १८:३८
ओली सिद्धान्तबाट च्यूत हुँदै पार्टी फुटाउन सक्रिया रहेको प्रचण्ड–नेपाल समूहको आरोप

२१ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट सिद्धान्तबाट च्यूत हुँदै गएको र पार्टी फूटाउने काममा सक्रिय रहेको आरोप लगाएको छ ।

काठमाडौंमा पार्टी सम्वद्ध पत्रकारसँगको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको चर्को आलोचना गर्नुभएको हो ।

ओलीले मदन भण्डारी फाउण्डेशनमार्फत भेला गरेर पार्टी फुटाउने काम गरेको नेताहरुको आरोप छ । प्रचण्डसहितका नेताले ओली पूर्ण रुपमा पूँजीवादी दिशामा गएकाले कम्युनिष्ट सिद्धान्त रक्षाका लागि संघर्ष भैरहेको दावी गरेको छलफलमा सहभागी पत्रकारले बताएका छन् ।

अध्यक्ष प्रचण्डले ओली पूर्ण रुपमा पूँजीवादी हुँदै गएको र सरकार पनि त्यसै अनुसार चलाइरहेको आरोप लगाउनुभयो । ओली दलाल पूँजीवादका पक्षमा उभिएपछि समाजवादी विचार रक्षाका लागि आफूहरुले संघर्ष गरिरहेको प्रचण्डको दावी छ ।

मदन भण्डारी फाउण्डेशनमार्फत कार्यक्रम गरेर पार्टी फूटाउने काममा ओली समूह सक्रिय रहेको र आफूलाई सिध्याउन खोजेको प्रचण्डको आरोप छ । ओलीले आफ्नो अपमान गरेको पनि प्रचण्डको गुनासो छ । कहिले अध्यक्ष हो त कहिले होइन भनेर र कहिले कुर्सी राखेर त कहिले हटाएर ओलीले अपमान गरेको प्रचण्डको गुनासो छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले ‘म नै पार्टी हुँ म नै राज्य हुँ’ भन्ने ओलीको अहंकारका कारण समस्या आएको बताउनुभयो । ओलीले विधि र बहुमतको निर्णय मान्नु पर्ने भन्दै नेपालले ओलीलाई पार्टीको भन्दा विचौलियको चिन्ता रहेको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले ओली गुटभन्दा माथि उठ्न नसकेको र अध्यक्ष भएर पनि गुट नै चलाएर बसेको टिप्पणी गर्नुभयो । मदन भण्डारी फाउण्डेशनमार्फत पार्टी विरोधी र गुटगत काम भैरहेको भन्दै खनालले चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

दलाल, विचौलिया र भ्रष्टाचारीलाई ओलीले संरक्षण दिएको खनालले गम्भीर आरोप लगाउनुभयो । प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको संघर्ष पार्टीलाई कम्यूनिष्ट बनाउने कि पूँजीवादी बनाउने भन्ने भएपनि भ्रम छरिएको बताउनुभयो । जनताको काम गर्न ओली गम्भीर नरहेको श्रेष्ठको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्