सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु
२१ साउन, २०७७ काठमाडौं । सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ।
मलेसियाबाट आएर होम क्वारन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।
सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गढियामा ४५ दिन पहिले मलेसियाबाट आएका ४५ वर्षीय पुरुषलाई हिजो एक्कासी ज्वरो आएको र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि धरान पठाइएको ती पुरुषको गएराति बाटोमै मृत्यु भएको हो । छिन्नमस्तामा मृत्यु भएका दुई जनामध्ये एक जनाको शव अस्पतालमै छ।
अर्का एक जनाको शव अस्पतालले परिवारको जिम्मा लगाएको थियो। परिवारले घर लगेको शवबारे अस्पतालले स्थानीय प्रशासनलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा राखेको छ।
मृतक तीनै जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया