Main News

पर्सामा कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

हिमालय टिभी
२०७७ साउन २१ गते १४:४०
पर्सामा कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

२१ साउन, २०७७ पर्सा । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि गएराति ९ बजे अस्पताल भर्ना भएका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

साउन १८ गते नमुना संकलन गरिएको पुरुषको १९ गते कोरोना पोजेटिभ आएको थियो। डाक्टर उपाध्यायले ती व्यक्ति मधुमेहका बिरामी रहेको बताउनुभयो ।

यसैगरी पर्साको पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी हिजो नारायणी अस्पतालमा पठाइएको थियो।

राति उनको परीक्षण रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका फिजिसियन एवं गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिहले जानकारी दिनुभयो ।

युवतीको स्वाब रिपोर्ट पोजिटिभ आए पनि उनको मृत्युको घटना शंकास्पद देखिएको छ। युवतीको घर पोखरीया ८ जगतपुर भएको र अविवाहित भए पनि गर्भवती भएको परिवारजनले थाहा पाए पछि उनको हत्या भएको पनि हुन सक्ने आशंका गरिएको छ। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *