कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा थप २८ जना नेपालीको मृत्यु

१८ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण यो साता विभिन्न देशमा थप २८ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।
भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढिरहेको समितिका संयोजक डा संजीव सापकोटाले बताउनुभयो ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो ।
भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् । यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ । यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् ।
समितिका अनुसार एक पारिवारिक जमघटमामा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ । अहिलेसम्म विश्वमा ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया