नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो
१७ साउन, २०७७, पर्सा । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
नारायणी वयोधा अस्पतालमा हिजो मृत्यु भएकी वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ नगवाकी ५० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते भर्ना भएकी उनको हिजो विहान मृत्यु भएको थियो । हिजो नै उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाईएको थियो । रिपोर्ट आउनु अघि नै उनको मृत्यु भएको थियो ।
कोरोना संक्रमणबाट वीरगंजमा मात्रै अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा भने यसबारे कुनै जानकारी दिएको थिएन ।
प्रतिक्रिया