Main News

कोरोनाका कारण नेपालमा थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

हिमालय टिभी
२०७७ साउन १६ गते १४:४९
कोरोनाका कारण नेपालमा थप चार जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५६ पुग्यो

१६ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । तीनजनाको पर्सा र एकजनाको ललितपुरमा मृत्यु भएको हो ।

पर्सामा हिजो साँझ वीरगञ्जका ३५ र ६५ वर्षीय दुई पुरुष र एक जना ५६ वर्षिय भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ ।

भारतीय नागरिक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार ३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छपकैयाका वृद्धको भने घरमै मृत्यु भएको र स्वाब परीक्षण गर्दा उनमा हिजो राती संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई साउन ५ गतेदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन् । वीरगञ्जमा मात्रै १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया संक्रमित महिलाको आज विहान मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत उनको आज विहान सवा नौ बजे मृत्यु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक विष्णु शर्माले
जानकारी दिनुभयो ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै उनी वीरगञ्जबाट आएको बताइएको छ । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल सारिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *