Main News

कोरोनाबाट पर्सामा थप तीन जनाको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या १० पुग्यो

हिमालय टिभी
२०७७ साउन १६ गते १२:३२
कोरोनाबाट पर्सामा थप तीन जनाको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या १० पुग्यो

१६ साउन, २०७७ पर्सा । कोरोना भाइरसको संक्रमणका कारण पर्सामा थप तीन जनाको मृत्यु भएको छ। योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

हिजो साँझ वीरगञ्जका ३५ र ६५ वर्षीय दुई पुरुष र एक जना ५६ वर्षिय भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ पुरुष र एक भारतीय नागरिक छन्। भारतीय नागरिक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत हुन्।

मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार ३५ वर्षीय युवाको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

छपकैयाका वृद्धको भने घरमै मृत्यु भएको र मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

ज्वरो आउने र श्वासप्रस्वासमा गम्भीर समस्या भएका ३५ वर्षीय युवा विभिन्न अस्पताल हुँदै १३ साउनमा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई ५ साउनदेखि ज्वरो आउन थालेको आफन्तले बताएका छन्।

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा अहिले ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

उपचारको क्रममा रहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको अस्पतालले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *