पहिरोले घर पुरिँदा दाङमा दुई जनाको मृत्यु

१४ साउन, २०७७ दाङ । पहिरोले घर पुरिँदा दाङको बंगलाचुली गाउँपालिका वडानम्वर–५ साकुनीमा दुई जनाको मृत्यु भएको छ ।
बिहान घरमाथिबाट आएको पहिरोले पुरेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अविरल वर्षापछि आएको पहिरोमा परी २४ वर्षिया बाटुली नेपाली र उहाँकी २ वर्षिया छोरी आयुस्माको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
बिहान ३ वजेतिर घरमाथिको कान्ला भत्केर घर पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा रहेका ५ परिवारमध्ये अन्य ३ जना भने सकुशल रहेका र उनीहरुलाई सुरक्षित स्थानमा लगेर राखिएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जोखिम बढेपछि १४ घर बिस्थापित भएका छन् ।
प्रतिक्रिया