Main News

गण्डकी प्रदेशमा प्राकृतिक प्रकोपका कारण ७८ जनाको मृत्यु, ८ जना बेपत्ता

हिमालय टिभी
२०७७ साउन १२ गते १२:५१
गण्डकी प्रदेशमा प्राकृतिक प्रकोपका कारण ७८ जनाको मृत्यु, ८ जना बेपत्ता

पोखरा । गण्डकी प्रदेशमा यो वर्ष मनसुन शुरु भएता बाढी पहिरोमा परी ७८ जनाको मृत्यु भएको छ । ती मध्ये ४० जना महिला र ३८ जना पुरुष छन् ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गत वैशाख महिनादेखि प्राकृतिक विपत्तिमा परी आठ जना बेपत्ता छन् भने ६८ घाइते भएका छन् । प्रदेशका ११ जिल्लामध्ये बाढी पहिराबाट म्याग्दीमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

म्याग्दीमा १६ महिला र १५ पुुरुषको मृत्यु भएको छ भने चार महिला बेपत्ता छन् । त्यसैगरी तनहुँमा आठ महिला र तीन पुरुषको मृत्यु तथा एक बेपत्ता छन् ।

कास्कीमा पाँच पुरुष र पाँच महिला गरी बाढी पहिरोका कारणबाट १० जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

लमजुङमा एक महिला तथा तीन पुरुष, स्याङ्जामा एक महिला र चार पुरुषको मृत्यु तथा एक पुरुष बेपत्ता छन् । गोर्खामा एक महिला र एक पुरुषको मृत्यु तथा अर्का एक पुरुष बेपत्ता छन् ।

पर्वतमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ भने नवलपरासी पुर्वमा एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् । बागलुङमा एक महिला र एक पुरुषको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् ।

प्रदेशका मनाङ र मुस्ताङमा भने हालम्म प्राकृतिक विपत्तिका घटनाबाट मानवीय क्षति नभएको बताइएको छ । कास्कीमा सात महिला र पाँच पुरुष गरी १२ जना पहिरोमा परी घाइते भएको रेग्मीले जानकारी दिनुभयो ।

त्यसैगरी लमजुङमा ११ महिला र १२ पुरुष गरी २३ तथा म्याग्दीमा छ महिला सात पुरुष गरी १३ जना घाइते छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *