कास्कीमा पहिरोले परिँदा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु

२ साउन, २०७७, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोले पुरेर एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
गएराति पहिरोले घर पुर्दा माछापुच्छ्रे–८ खोरामुमा तीन जना बालबालिकाको मृत्यु भएको हो ।
पहिरोमा परी प्रेमराज विकका नातीहरु १६ वर्षीय कुशल विक र १४ वर्षीय समीर विक र नातिनी १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
घरमा छ जना बस्दै आएको भए पनि मृतकका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति सकुशल रहेका छन्। तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए। उनीहरु सुतेको कोठा पहिरोले च्यापेको हो।
डीएसपी हमालले पहिरो बिहानपख आएको हुनसक्ने जानकारी दिनुभयो । स्थानीयले उज्यालो हुँदासाथ पहिरो देखेपछि प्रहरीमा खबर गरेका थिए।
माछापुच्छ्रे गाउँपालिकाबाट तत्कालै पुगेको प्रहरी र वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीनवटै शव निकालेको छ ।
प्रतिक्रिया