Main News

तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ असार २९ गते १८:५१
तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना अझै बेपत्ता

२९ असार, २०७७ काठमाडौं । बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम जारी छ । पछिल्लो पटक तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । २ जना हराइरहेका छन् । केही घाइते भएका छन् ।

पहिराले घर पुरिँदा ऋषिङ नगरपालिकामा ५, व्यास नगरपालिकामा चार तथा म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । ऋषिङ गाउँपालिकाको पल्ट्याङमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

स्थानीय अनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका दुई छोरा, दुइ बुहारी र एक नातिनीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेले जानकारी दिनुभयो । पहिरोमा पुरिएर भेषबहादुर थापा, निजकी श्रीमती नानुमाया थापा र ५ वर्षीया छोरी अमिषाको मृत्यु भएको छ ।

यस्तै २२ वर्षीय महादेव थापा र निजकी श्रीमती मनिश्वरा थापाको पनि मृत्यु भएको छ । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापा घाइते हुनु भएको छ ।

यसैगरी व्यास नगरपालिका वडा नम्वर ९ माँझफाँटमा पनि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको छ । ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको छ । कमलाका २० वर्षीय छोरा राजेश बेपत्ता छन् । पति केशरबहादुर घाइते हुनु भएको छ । ब्यासकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले पुरिएर मृत्यु भएको छ ।

यस्तै म्याग्दे गाउँपालिकाको बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । उद्दार गरिएपछि उपचारका क्रममा विकको मृत्यु भएको हो । व्यास नगरपालिका वडा नम्वर ११ ओडारेका पदमबहादुर भुजेल पहिरोमा पुरिएर हराइरहेको प्रहरीले जनाएको छ । जिल्लामा बाढी र पहिरोका कारण १ सय ५० भन्दा बढी विस्थापित भएको एसपी पौडेलले जानकारी दिनुभयो ।

म्याग्दीमा पहिरोमा पुरिएका मध्ये थप एक जनाको शव निकालिएको छ । धवलागिरि गाउँपालिका वडा नम्वर ६ मराङमा हराइरहेका मध्ये खिमबहादुर जुग्जालीको शव भेटिएको हो । यो सँगै म्याग्दीमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । जिल्लामा चारजना अझै बेपत्ता छन् ।

सङ्खुवासभाको सिलिचोङमा पहिरोमा पुरिएर हराएका ११ जना अझै भेटिएका छैनन् । वर्षा भइरहेकाले खोजीमा समस्या भएको छ । पहिरोबाट विस्थापितलाई राहत लिएर गएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको टोली घटनास्थल पुग्न नसकि तुम्लिङटारमा अवतरण गरेको छ ।

त्यहाँ पहिरोले ९ घर बगाएको छ । ५ जना घाइते भएका छन् । ३ सय ३९ जना विस्थापित भएका छन् । मुख्यमन्त्री राइले मौसम सुधार भएपछि हेलिकोप्टरबाट राहत लैजाने बताउनुभयो । विस्थापितको पुनर्स्थापना गर्ने आश्वासन पनि उहाँले दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *