Main News

देशका विभिन्न भागमा बाढी र पहिरोको प्रकोप, ३४ जनाको मृत्यु, २६ जना बेपत्ता

हिमालय टिभी
२०७७ असार २६ गते २०:१३
देशका विभिन्न भागमा बाढी र पहिरोको प्रकोप, ३४ जनाको मृत्यु, २६ जना बेपत्ता

२६ असार, २०७७ काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति गरेको छ । म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा धेरै मानवीय क्षति भएको छ ।

पछिल्लो पटक विभिन्न जिल्लामा बाढी र पहिरोबाट ३४ जनाको मृत्यु भएको छ । कम्तिमा २६ जना बेपत्ता छन् । दर्जनौ घाइते भएका छन् । कास्कीका बिभिन्न स्थानमा पहिरोमा पुरिएर ७ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोट गोठाधी पधेरी खोलामा गएको पहिरोमा ५ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पहिरोमा घरमुली ५० बर्षे टंकबहादुर थापा, उहाँकी श्रीमती ४० बर्षीया सोममाया थापा, सोममायाकी बैनीको छोरा ८ वर्षीय शितल श्रेष्ठ, छिमेकी ११ वर्षीया इसिका थापा मगर र टंकबहादुरका दाइको नाती ६ वर्षिय सुभान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शुभास हमालले जानकारी दिनुभयो । यो घरमा जन्मदिनको कार्यक्रम भइरहेका बेला पहिरो गएको थियो । घाइते ८ जनाको पोखरामा उपचार भइरहेको छ ।

यस्तै पोखराकै हेम्जामा पहिरोमा पुरिएर ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ पैतेको डाडाँमा पहिरो जाँदा करिब ४५ बर्षीय विवेक परियारको मृत्यु भएको छ । पोखराको छोरेपाटन स्थित सिमलटुँडामा पहिरोले घर भत्काउँदा दुइजना घाइते भएका छन् ।

म्याग्दीका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । धौलागिरि र मालिका गाउँपालिकामा बढी क्षति भएको छ । रघुगंगामा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।

यस्तै जाजरकोटमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । बारेकोट गाउँपालिका ४ सार्कीगाउँका दुइ घर बगाउँदा पाहुना बस्न आएका ४ जनासहित १२ जना हराएका थिए । ति मध्ये ७ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा गोपाल सार्की, अर्जुन सार्की डिल्ली सार्की, बिरेन्द्र सार्की र तिर्खि सार्की छन् । त्यस्तै दुई जनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लमजुङमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्वर ३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा उहाँकी श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविलको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *