Main News

सिन्धुपाल्चोकलाई जहिले पनि किन सताउँछ बाढी र पहिरोले ? किन गरिँदैन पूर्व तयारी ?

हिमालय टिभी
२०७७ असार २६ गते २०:०६
सिन्धुपाल्चोकलाई जहिले पनि किन सताउँछ बाढी र पहिरोले ? किन गरिँदैन पूर्व तयारी ?

२६ असार, २०७७ काठमाडौं। वर्षा सुरु भएसँगै देशभरी नै बाढी पहिरोले क्षति पुर्‍याउँछ । हरेक वर्ष यस्तै हुन्छ । त्यसमध्ये सिन्धुपाल्चोक पनि पर्छ ।

यसवर्ष पनि सिन्धुपाल्चोकमा बाढी पहिरोले जनधनको क्षति गरेको छ । अधिकांश स्थान बाढी पहिरोको उच्च जोखिममा रहेकोले सिन्धुपाल्चोकमा समस्या दोहोरिरहेको भूगर्भविद्को भनाई छ ।

अविरल वर्षापछिको बाढी पहिरोले विहीवार सिन्धुपाल्चोकको बाह्रविसे र भोटेकोशीमा जनधनको ठूलो क्षति गर्‍यो । दुईजनाको मृत्यु भयो भने २२ जना व्यक्ति बेपत्ता भए ।

सिन्धुपाल्चोकको यो क्षेत्रमा ठूलो बाढी पहिरो आएको यो पहिलो पटक होईन । २०७१ सालमा पनि जुरेको पहिरोका कारण सिन्धुपाल्चोकको राम्चेमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए । जहाँ १ सय २२ घर पूर्ण रुपमा क्षति भएका थिए । यो क्षेत्रमा पटक पटक बाढी पहिरो आउने गरेको छ र त्यसको कारण छ । भूगर्भविद्का अनुसार बस्ती नै गलत ठाउँमा छ ।

सिन्धुपाल्चोकमा अहिले आएको बाढी पहिरोले ७० वर्ष अगाडिको स्थिति सम्झाइदिएको छ । बाढी पहिरो आएकै ठाउँमा बस्ती बसाइएकोले जिल्लाका अधिकांश क्षेत्र जोखिममा छन ।

संवेदनशील क्षेत्रको ख्यालै नगरी सडक खन्नु, सडक बनाउँदाखोलाको छेउबाटै लैजानुपनि जोखिमका कारण हुन । त्यसैले क्षति रोक्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने विज्ञको सूझाव छ ।

विहिबार बाढी आउनु पूर्व नै नेपाल विपद् व्यवस्थापन केन्द्रले देशका विभिन्न भुभाग बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै सचेत गराएको थियो । तर कहाँ कसरी कुन क्षेत्र बढी जोखिममा छ भन्ने प्रष्ट गरेको थिएन ।

यसरी सरकारले जोखिमपूर्ण ठाउँको पहिचान नगर्दा र पूर्वतयारी नगर्दा देशका विभिन्न भुभागमा क्षति भैरहेको छ । यसको विकल्प नखोजे वर्षेनी यस्तै स्थिति बेहोर्नु नियति नै बन्ने छ । त्यसैले जोखिमपूर्ण बस्ती पहिचान गरी सुरक्षित ठाउँमा सार्नु नै सही विकल्प हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *