चीनको बचाउमा यसरी उत्रिए पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गर्नुभएको छ । नेपालमा भारत र चीनको गतिविधि तुलना गर्दै भारतको भूमिका विग्रह ल्याउने र चीनको भूमिका समाधानमुखी भएको मन्त्री भट्टराईको दावी छ ।
सत्तारुढ नेकपाको विवाद सहजीकरण गर्न चिनीयाँ राजदूत होउ यान्छी अहिले सक्रिय हुनुहुन्छ । शीतलनिवासमा बसेर नेकपाभित्रको विवादमा ओलीका पक्षमा खुलेर काम गरिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारी, ओली विरुद्ध मोर्चाबन्दी गरिरहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग चिनीयाँ राजदूतले भेटवार्ता गरिसक्नुभएको छ ।
राष्ट्रपतिसँग असार १९, नेपालसँग असार २१ र खनालसँग असार २३ गते भेटेपछि चीनले नेपालको राजनीतिमा माईक्रो म्यानेजमेन्ट गर्न खोजेको भन्दै चर्को विरोध भैरहेको छ । र, यसमा पक्ष विपक्षमा बहस हुन थालेका छन । यही मेसोमा पर्यटनमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य चीनको पक्षमा उभिनुभएको छ ।
फेसबुक मार्फत भट्टराईले भारत र चीनको गतिविधि तुलना गर्दै भारतको भूमिका नेपालमा विग्रह ल्याउने र चीनको भूमिका समाधान गर्ने खालको भएको टिप्पणी गर्नुभएको छ । चीनको समर्थन गर्दै गर्दा भारतको विरोध गरेका मन्त्री भट्टराईले चीन र भारतको नामै नलिई चार बुँदामा तुलना गर्नुभएको छ ।
भट्टराईको पहिलो प्रश्न छ– ‘संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक कि संविधान निर्माणप्रति सद्भाव राख्नु ठीक ?’ यो प्रश्नमार्फत भट्टराईले नेपालमा संविधान घोषणा हुने बेलामा भारतले हस्तक्षेप गर्दै यसलाई रोक्न खोजेको स्मरण गराउनुभएको छ । तत्कालीन भारतीय विदेश सचिव एवं वर्तमान विदेशमन्त्री एस जयशंकरले नेपालमै आएर नेताहरुलाई दवाव दिएका थिए ।
‘पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति–जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा विग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सदभाव राख्नु ठीक ?’ मन्त्री भट्टराईको दोस्रो प्रश्न छ ?
तेस्रो बुँदामा भट्टराईले नाकाबन्दीको प्रसंग उठाउनुभएको छ । ‘नेपालमाथि नाकाबन्दी लगाएर हायल कायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देऊ भन्नु ठीक ?’ भन्ने प्रश्न उठाएर नेपालमा भारतको भूमिका गलत चीनको भूमिका ठीक रहेको तर्क गर्नुभएको छ ।
चौथो बुँदामा मन्त्री भट्टराईले भारतले नेपालको लोकतन्त्र कमजोर पार्ने र चीनले बलियो बनाउने काम गरेको टिप्पणी गर्नुभएको छ । मन्त्री भट्टराईको प्रश्न छ–पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीच राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक ?
चीनको समर्थन र बचाउ गर्दै गर्दा विदेशी हस्तक्षेप निम्त्यायो भन्ने आरोपबाट भने मन्त्री भट्टराईले बच्ने कोशिस गर्नुभएको छ । भट्टराई अन्तिममा लेख्नुहुन्छ–कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।’
नेकपा भित्र चिनीयाँ राजदूतको सक्रियतालाई लिएर दुई थरि दृष्टिकोण देखिएका छन, कतिपयले चीनले एकतामा जोड दिएको भन्दै समर्थनमा उभिएका छन भने कतिपयले आन्तरिक मामिलामा हस्तक्षेप गरेको टिप्पणी गरिरहेका छन । स्वयं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूतले नेकपा नेताहरुसँग गरेको भेटघाटप्रति असन्तुष्टि व्यक्त गरेको पृष्ठभूमिमा मन्त्री भट्टराईको प्रतिक्रिया आएको छ ।
प्रतिक्रिया