Main News

वर्षासँगै आएको पहिरोका कारण गुल्मीमा सात घर जोखिममा, हेटौंडा–काठमाडौं सडक अवरुद्ध

हिमालय टिभी
२०७७ असार ८ गते १२:२९
वर्षासँगै आएको पहिरोका कारण गुल्मीमा सात घर जोखिममा, हेटौंडा–काठमाडौं सडक अवरुद्ध

८ असार, २०७७ काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीको सदरमुकाम नजिकै ७ वटा घर जोखिममा परेका छन् ।

निर्माणाधीन तम्घास–खाम्सेपानी सडक खण्डमा पर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर–७ स्थित बेतुखर्कमा पहिरो जाँदा घरहरु जोखिममा परेका हुन् । पहिरोबाट रामबहादुर खड्का, लक्ष्मी कुवँर, पदम विष्ट, मुमेन्द्र थापा मगर, पोम नारायण सुवेदी, दीपक सुनार र विष्णु कुँवरको घर जोखिममा परेका छन् ।

निर्माणाधीन तम्घास–खाम्सेपानी सडक र तम्घास–नेटा सडकमा पर्ने वस्ती जोखिममा परेका छन्। घर जोखिममा परेपछि उनीहरु छिमेकी तथा आफन्तकहाँ बस्दै आएका छन् । भौगोलिक जोखिमको आँकलन नगरी सडक चौडा पार्ने कामले घरहरु जोखिममा परेको स्थानीयको भनाइ छ ।

जोखिमबारे वर्षौंदेखि सम्बन्धित निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ भएको पीडित पदम विष्टले बताउनुभयो । खानेपानीको पम्पिङ्ग गरिएको स्थानमै पहिरो गएको छ । तम्घासको फोहोर व्यवस्थापन गर्ने स्थान पनि त्यहीँ रहेकाले थप पहिरो गएमा तम्घासको फोहोर मैला व्यवस्थापन गर्नसमेत असहज हुनेछ ।

पहिरो गएको स्थानमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, सडक आयोजनका इन्जिनियर, प्राविधिक, सुरक्षा निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी शर्माले तत्काल केही गर्न सकिने काम र वर्षा रोकिएपछि गर्ने कामहरुको बारेमा योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

हेटौंडा–काठमाडौं सडक अवरुद्ध
हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

अहिले ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । यस अघी पनि ति स्थानमा सुख्खा पहिरो गएको थियो ।

यसैबीच लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर –चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबारको पहिरो हिजो पन्छइए पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मर्स्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *