Main News

लकडाउन अवधिको शुल्क तिर्न अभिभावकसँग विद्यालयहरुको आग्रह

हिमालय टिभी
२०७७ असार ७ गते १६:४८
लकडाउन अवधिको शुल्क तिर्न अभिभावकसँग विद्यालयहरुको आग्रह

७ असार, २०७७ काठमाडौं । सरकारको निर्णयलाई लत्याउँदै विद्यालय सञ्चालकहरूले लकडाउनको अवधिको पनि शुल्क तिर्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन प्याब्सनले संयुक्त विज्ञप्ति निकालेर शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले निकालेको विज्ञप्तिमा कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै शुल्क तिर्न अभिभावकहरुलाई आग्रह गरिएको छ ।

२०७६ सालको बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्न, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी लगायतका आर्थिक गतिविधिमा सहभागी भई सहयोग गर्न भनिएको छ । कोरोना भाइरस संक्रमणका कारण चैतदेखि नै सबै विद्यालय बन्द छन् ।

– प्याब्सन र एनप्याब्सनद्वारा शुल्क तिर्न आग्रह
– सरकारले नलिनु भनेको चैतको शुल्क पनि लिने
– चैतको शुल्क नबुझाउने विद्यार्थीको रिजल्ट रोक्का
– लकडाउनले पढाइ नभएको वैशाख र जेठको पनि शुल्क तिर्नु पर्ने

सरकारले चैत महिनाका शुल्क नलिने र लिएको भए पनि फिर्ता गर्न वा पछि मिलाउन भनेको थियो । तर निजी विद्यालयले चैतको शुल्क नतिरेका विद्यार्थीको रिजल्ट रोकिदिएका छन् र शुल्क तिर्न बाध्य पारेका छन् ।

यस्तै सरकारले अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने भनेको छ । तर उनीहरूले बैशाखदेखि नै अनलाइन कक्षाहरू सञ्चालन भएको उल्लेख गर्दै शुल्क मागेका छन् ।

लकडाउनले विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयले भाडा र ऋणको ब्याज तिर्न नसकेको प्याब्सनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *